गुल्मीदरबारले ल्यायो कृषिलाई जोड दिंदै नीति तथा कार्यक्रम

अमर पन्थ, गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कृषि र पशुपालनलाई महत्व दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज गाउँसभाको १३औं अधिवेशनमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि र पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउँदै व्यवसायिकरण गरिने उल्लेख गरिएको छ ।

 

व्यवसायिक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विधुतिकरण, कृषि बजार, सित भण्डार, तथा गोदाम घरहरुको पुर्वाधार निर्माणको लागि पहल गर्ने गुल्मीदरवार गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेस गरेको छ । पालिकको स्थापना भएदेखी नै कृषि र पशुपालनमा जोड दिंदै आएको गुल्मीदरवारले हाल ५ करोडको लागतमा गुल्मीदरवार कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संचालन गरिरहेको छ ।

 

निजि क्षेत्रसंग मिलेर काम गरिरहेको गुल्मीदरवारले वडा नं ५ मा बंगुर स्रोतकेन्द्र स्थापना समेत गरेको छ भने आगामी नीति तथा कार्यक्रममा मासु पसल तथा बधशालाहरुको पुर्वाधार निर्माण एवम् स्तरोन्नति गरि स्वास्थ्य मापदण्डमा आधारित बनाउने उल्लेख गरिएको छ ।

किसानले कृषिजन्य सामाग्री उत्पादन गर्ने तर बजार नपाउने समस्या समाधान गर्न कृषि उपजको बजारीकरणको लागि अन्य स्थानीय तह तथा संघसंस्था संग समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै गुल्मीदरवारले बिपतबाट किसानको धनमा हुने क्षेतिको राहतको लागि आकस्मिक कृषि एवम् पशु उपज संरक्षण कोष स्थापना गर्ने भएको छ । गाउँपालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउन मह प्रशोधन र प्याकेजिङ्ह समेतको लागि लागत साझेदारीमा अगाडि बढाईने गाउँपालिकाले उल्लेख गरेको छ ।

 

गुल्मीदरवारले कृषिलाई व्यवसायिक बनाउन “व्यवसायिक रुपमा खेती गरौं, कृषिमा आत्मनिर्भर बनौं” नारा नै लिएर अगाडि बढ्ने भएको छ भने कृषक संग गाउँपालिका कार्यक्रमलाई निरंतरता दिने पालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाले यो पटक पनि “अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रम” लाई निरन्तरता दिने भएको छ भने “एक वडा एक नर्शरी कार्यक्रम” संचालन गरी सबै वडाहरुमा व्यवसायिक नर्सरी स्थापना गर्ने भएको छ । त्यस्तै अर्गानिक तरकारी उत्पादन गरि स्वास्थ्य र आत्मनिर्भरतालाई जोड दिंदै एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

कृषिको बजारीकरणको लागि गुल्मीदरबारले गाउँपालिकाको मुख्य बजारक्षेत्रमा हाटबजार संचालन गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समेटेको छ । त्यस्तै गुल्मीदरवारले बाँझो जमिनमा उखु, टिमुर, कागती, ओखर, लप्सी, कुरिलो, अम्रिसो, जंगली फलफुलका बिरुवा रोप्ने समेत नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

 

यो समाचार तयार पार्दा सम्म गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?