छत्रकोटले आगामी बर्ष “घुमौं छत्रकोट” अभियान चलाउने

गोबिन्द झाँक्री, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले घुमौं छत्रकोट अभियान चलाउने भएको छ । पालिकामा पर्यटन प्रवर्द्धन गर्न सो अभियान चलाईने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताएका छन ।

 

गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाण्डेयले “छत्रकोटका सबै वडामा रहेका धार्मिक, सांस्कृतिक, र पुरातात्त्विक महत्वका पर्यटकीय स्थानहरूको संरक्षण, सम्वर्द्दन, प्रवर्द्धन र प्रचारप्रसार गरि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरिने छ” भनेका छन । छत्रकोट ३ को छत्रकोट देवालय मन्दिर देखि भालुपानीमा रहेको देवी भगवती मन्दिरमा जिपलाईन, राममन्दिर देखि छत्रकोट देवालय सम्म पर्यटकिय झोलुङ्गे पुल बनाउने, दौंघाको बराही मन्दिर संरक्षण गर्ने, वडा न १ हुँगामा रहेको देउती ढुंगा गुफा र वडा न ४ दिगामको सिद्धपानी गुफालाई व्यवस्थित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

प्रस्तुत नीति तथा कार्यक्रममा पल्लिकोट र दौंघामा होमस्टे संचालन गर्ने उल्लेख गरिएको छ । दौंघामा रहेको रक गार्डेनलाकी थप व्यवस्थित गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । त्यस्तै पर्यटन तर्फकै नीति तथा कार्यक्रममा छत्रकोट ४ दिगाम थुम्कामा रहेको कालिका मन्दिर र मौलिपोखरा ताललाई जोडि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?