भुवन भुसाल, गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिकाले छत्रकोटवासी तथा सरोकारवाला संग राय सुझाव संकलन गरेको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका निम्ति पालिकाले सबै पक्षलाई बोलाएर सुझाव संकलन गरेको हो । पालिकाले आज सुझाव संकलनका लागी राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार लगायत संग सुझाव संकलन गरेको हो ।
कार्यक्रमको सुरुमै संबोधन गर्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पालिकालाई आफ्नो घर मानी सुझाव दिन सक्रिय सहभागीताका लागि धन्यवाद व्यक्त गरेका छन । कार्यक्रममा सुझाव दिन आएका अधिकांसले पालिका भित्र बाँदरको आतंकले बस्नै नसक्ने अवस्था आएको बताएका छन । पालिकालाई सुझाव दिंदै कतिले बाँदर मार्न पाउनुपर्ने माग गरेका छन भने कतिले अनावश्यक रुख काटेर फलफुलका बिरुवा रोप्न सुझाव दिएका छन ।
कस्का सुझाव कस्ता ?
छत्रकोट ४ का स्थानिय भेषराज कंडेलले बसाईसराई रोक्न स्वास्थ्य क्षेत्रको सुधारका निम्ति आवस्यक काम गर्न सुझाव दिएका छन । साथै उनले शिक्षा क्षेत्रमा सामुदायिक बिधालयमा गुणस्तर वृद्धिका निम्ति आवस्यक काम गर्न सुझाव दिए ।
शेषकान्त श्रेष्ठले नेवार समुदायको सम्पदा बचाउन आवस्यक बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन । उनले भिमशेन मन्दिर निर्माण, नेवारी भाषाको संरक्षणका लागि तालिमको व्यवस्था गर्न आग्रह गरेका छन । लुम्छाका स्थानिय बाबुराम अर्यालले स्थानीय सरकारको काममा खास गुनासो नभएको भन्दै अधुरा काम पूरा गर्न र सार्वजनिक जग्गा अतिक्रमण रोक्न सुझाव दिएका छन । छत्रकोट ५ को मिलिजुली सहकारीका अध्यक्ष मदन ज्ञवालीले पालिका भित्रका सहकारीहरुलाई पालिका भित्र एक मुल कानुन बनाई निगरानी गर्न सुझाव दिएका छन । ज्ञवालीले बाँदर नियन्त्रणका लागी उपाय बताउँदै बाँदर मारेरै सक्काउनुपर्ने सुझाव दिएका छन। ज्ञवालीले भने “बाँदर अब गाउँमै हतियार बनाएर मार्न पर्छ, उसले हाम्रो सक्काएपछी अब उसलाई पनि सक्काउनु पर्छ, हतियार बनाउने र मार्ने गर्न गाउँकै केटाहरुले सक्छन” ।
छत्रकोट ४ का स्थानिय यम बहादुर नेपालीले बसाइँसराइ रोक्न, बन्यजन्तुको आक्रमण बाट रोक्न जंगल क्षेत्रलाई घेराबार गर्ने र जंगलमा फलफुल रोप्नुपर्ने सुझाव दिएका छन । नेपालीले आफू दलित अधिकारकर्मी समेत भएको बताउँदै दलित समुदायमाथी हुने अपहेलना अन्त्यका लागि पालिका निर्मम ढंगले लाग्नुपर्ने सुझाव दिएका छन ।
चुण्ड कंडेलले बिधालय तहको पाठ्यपुस्तकमा बिधुतिय सामाग्री र ग्यासको प्रयोग र यसका जोखिम न्यूनीकरणको उपाय समाबेस गर्न र नैतिक शिक्षा समेत समाबेश गर्न सुझाव दिएका छन ।
छत्रकोट ३ चोयगा निवासी क्या. कृष्ण थापाले सार्वजनिक जग्गाको अतिक्रमण रोक्न पालिका निर्मम बन्न सुझाव दिएका छन साथै उनले आगोलागी रोक्न आगो लगाउने व्यक्तिलाई कारवाही गर्न सुझाव दिएका छन ।
प्रकाश पन्थले खानेपानी महशुल छुट गर्न सुझाव दिएका छन भने चोयगा मन्दिर व्यवस्थापन समिति अध्यक्ष बिक्रम कार्किले छत्रकोटको धार्मिक बनमा तारबारको लागि बजेट व्यवस्थापन गर्न, छत्रकोट मन्दिर प्रबेश द्वार देखि मन्दिर सम्म पैदल मार्ग बनाउन, पुराना अधुरा योजना पूरा गर्न, करको दर व्यवसाय अनुसार परिमार्जन गर्न लगायतका सुझाव दिएका छन ।
छत्रकोट ३ लुम्छाका कमल प्रसाद श्रेष्ठले देउराली खोला भालुपानी खानेपानी आयोजनाको मुहान सुकेकाले थप मुहान बाट पानी ल्याउन बजेट व्यवस्था गर्न आग्रह गरेका छन । उनले बाँदर आतंकले बस्नै समस्या भएको भन्दै आफ्नो जग्गामा खेती गर्न पालिकालाई आग्रह गर्दै आफुले जेलादारी मा आफ्नै बारीमा काम गर्ने र अनाज पालिका संग खरिद गर्न तयार रहेको बताएका छन ।
मुक्तिनाथ सहकारीका अध्यक्ष रामकृष्ण न्यौपानेले शैक्षिक क्षेत्रमा उदारवादी नबन्न पालिकालाई सुझाव दिएका छन, सधै शिक्षकका अधिकारका कुरा सुनिने तर विद्यार्थीका अधिकार कहाँ हरायो भन्दै उनले प्रश्न गरेका छन । उनले सहकारीमा आधारित उत्पादन प्रणालीमा जान सुझाव दिंदै हाईब्रीड बिँउले स्थानिय जातको बीउ लोप भएको तर्फ पालिकाको ध्यानाकर्षण गराएका छन ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनले संचालन गरेको कार्यक्रममा पालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी, वडा अध्यक्षहरु, राजनीतिक दलका नेता लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
दिगामका देबि पाण्डेले दिगामको क्याम्पसलाई समग्र छत्रकोटको क्याम्पस बनाउन र त्यसका लागि ठाउँ परिवर्तन गर्न समेत दिगामवासी तयार रहेको उल्लेख गरेका छन । राष्ट्रिय जनमोर्चाका नेता पशुपती न्यौपानेले शिक्षा क्षेत्र छत्रकोटमा झनपछी झन खस्किंदै गएकोमा चिन्ता व्यक्त गर्दै राजनैतिक आस्थाका आधारमा शिक्षक नियुक्ती बन्द गर्न सुझाव दिएका छन ।
जिल्ला समन्वय समिती गुल्मीका सदस्य महेश्वर भण्डारीले छत्रकोटले काठमाडौ, रुपन्देही सम्म पुगेर सुझाव संकलन गर्दै पालिकामा समेत सुझाव संकलन गरेकाले धन्यवाद व्यक्त गर्दै आज आएका सुझाव नीति तथा कार्यक्रममा समाबेस गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।
नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसालले युवा उद्यमशिलता, महिला लक्षित कार्यक्रम, एक वडा एक आवासीय बिधालय लगायतका बिस्तृत सुझाव पेस गर्दै पार्टिको तर्फबाट लिखित सुझाव समेत पालिका अध्यक्ष पाण्डेयलाई हस्तान्तरण गरेका छन । नेकपा एमाले छत्रकोटका नेता यमलाल भण्डारीले कार्यक्रममा उठेका हरेक बिषय गहन भएकाले बसाइँसराइ रोक्ने योजना ल्याउन पालिकालाई सुझाव दिएका छन । नेकपा माओवादी केन्द्र छत्रकोटका अध्यक्ष लोकनाथ पाण्डेले अनुदान बितरण गर्दा उत्पादनमा आधारित अनुदान बितरण गर्न सुझाव दिएका छन ।