गुल्मीमा ९ जना असल बुहारी सम्मानित

गुल्मीको मदाने गाउँपालिकामा बुहारी सम्मान कार्यक्रम सुरु गरिएको छ । बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा मदाने गाउँपालिका–१ अग्लुङ्गमा असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत नौ जना बुहारीहरुलाई सम्मान गरिएको हो ।

 

पछिल्लो समयमा घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको छ । वृद्धवृद्धाले दुस्ख भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै पालिकाको वडा नम्बर एकमा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताए।

 

वडा कार्यालयले साविकका नौ वडाहरुबाट प्रतिनिधिमूलक रुपमा एक–एक जना असल बुहारीहरुलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । वडा कार्यालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको निर्मला विष्टले बताइन् । उनले यस्ता कार्यक्रमले टोल छिमेकका अन्य दिदीबहिनीहरुलाई पनि थप हौसला प्रदान गर्ने बताइन् ।

 

यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिएका छन् ।

यसअघि पाल्पामा पनि असल बुहारी सम्मान कार्यक्रम सम्पन्न भएको थियो । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?