ढोरपाटनका मेयर सहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहले गर्यो पत्राचार

गृह मन्त्रालयले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको छ । शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा विभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो ।

केही दिनदेखि नगर प्रमुख नेपालीसहित सहकारीका पदाधिकारी सम्पर्कविहीन छन् । ढोरपाटन नगरपालिका १ र बागलुङ नगरपालिका २ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका प्रमुख नेपाली भागेर विदेश जान सक्ने भएको भन्दै यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।

भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रतिव्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैयाँ बचत संकलन गरेको छ । १८ प्रतिशत ब्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतबार बेलुकी पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।

संस्थापक अध्यक्षको रुपमा नेपालीसहित सहकारीको कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?