प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल असाबधानीबस पड्किँदा सत्तारुढ दल माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएकी छिन् । शुक्रवार राती १० बजे बालुवाटारस्थित पुनको निवासमा उनकी आमालाई गोली लागेको हो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीले पुनको आमा माथि दुर्घटनावस गोली लागेको र उनको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिए ।
उनले भने,‘ वर्षमान पुनको आमा माथि असाबधानीबस गोली लागेको छ । प्रारम्भिक अनुसन्धान हेर्दा ‘इन्टेन्सनली’ भन्दा पनि उहाँमाथी ‘एक्सिडेन्ट्ली’ गोली लागेको जस्तो देखिन्छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् ।
प्रकाश नातामा तीर्थमालीको नजिक नाती पर्छन् । गोली किन चल्यो भन्ने अझसम्म खुलिसकेको छैन । यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रका वर्षमान पुन भने स्वास्थ्य उपचारका लागि चिनमा छन्। उनी श्रीमती ओनसरी घर्तीसहित उपचारका लागि चीन गएका हुन् ।
उनको पारिवारिक स्रोतका अनुसार वंशाणुगत जण्डिसबाट पीडित पुन नियमित उपचारका लागि चिन गएका हुन्।
लामो उपचारपछि गत पुस ५ गते चीनबाट फर्केका पुन दुई महिना नबित्दै गत फागुन २ गते चीनतर्फ लागेका हुन्। त्यसबेला उनको उपचार चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा भएको थियो।
चिकित्सकीय भाषामा उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिने बताइएको छ ।
भने प्रहरीले यस घटनाको अनुसन्धान जारी राखेको छ । नेता वर्षमान भने उपचारका लागि चीनमा रहेका छन् ।