नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भोली आफ्नो पार्टीले समर्थन फिर्ता लिन सक्ने बताएका छन्।
त्यसैका लागि भोली संसदीय दलको बैठक बस्न लागेको उनले जानकारी दिए ।
‘संसदीय दलको बैठकपछि भोलि नै हामीले नेकपा एमालेका नेता तथा लुम्बिनीका मुख्य मन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने सक्छौं,’ लुम्बिनीका पूर्वमन्त्री समेत रहेका बरालले भने, ‘अरू दलको कुरा थाहा भएन तर माओवादीले यसअघि दिएको समर्थन भोलि नै फिर्ता लिन सक्ने सम्भावना प्रबल छ।’
माओवादीले भोली बुधबार मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र गिरीले विश्वासको मत लिनु पर्नेछ।
कतिपयले भने भोली बस्ने दलको बैठकबाट संसदीय दलको नेता फेरबदल हुने सक्ने सम्भावना औंल्याएका छन्।
‘भोलि हाम्रो पार्टीमा संसदीय दलको नयाँ नेता हुने सम्भावना छ,’ माओवादीका एक सांसदले भने, ‘जोखबहादुर महरा अल्पमतमा परेको हुँदा बहुमत सिद्ध गरी नयाँ नेता चयन गर्न कसरत भइरहेको छ।’
उनले अब दाङको क्षेत्र नं। ३ बाट निर्वाचत धनबहादुर मास्की संसदीय दलको नेता बन्न सक्ने सम्भावना औंल्याए।
बाँकेबाट निर्वाचित माओवादी सांसद कृष्णा केसीले पनि त्यस्तै सम्भावना व्यक्त गरिन्। अध्यक्ष बरालले औपचारिक रूपमा त्यो कुरा नआए पनि कसैले व्यक्तिगत रूपमा त्यो कसरत गरेको हुन सक्ने तर्क गरे।
लुम्बिनीमा माओवादी भित्र संसदीय दलका नेता महराविरूद्ध मोर्चा बन्दी हुँदै आएको छ। दलमा छलफल नै नगरी आफूखुसी मन्त्रालय बाँडफाँट गरेको उनीमाथि अभियोग लाग्दै आएको छ। त्यही अभियोगका कारण बिनाविभागीय मन्त्री बनाइए पनि केसीले पदबाट राजीनामा दिएकी थिइन्।