गुल्मीकी गंगा हत्या प्रकरणः काठमाडौंबाट थप एक जना पक्राउ,पक्राउ परेका व्यक्ति पेशेवर अपराधी

गुल्मी मुसिकोट नगरपालिका–७ की ५७ वर्षीया गंगादेवी शेरचनको हत्यामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन्।

गत माघ १६ गते बिहान एक घरमा गंगादेवीको शव फेला परेको थियो।

यसमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरी गुल्मी लगिएको हो। यसमा दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा एक जना बागलुङ, एक जना सिन्धुपाल्चोक र एक जना मकवानपुरका छन्। अनुसन्धान नसकिएको हुँदा प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन। हत्यामा संलग्न रहेको आशंकामा एक जना अझै फरार छन्।

उनी नजिक पनि प्रहरी पुगिसकेको र छिट्टै पक्राउ गरिने ती प्रहरीले बताए। पक्राउ परेका व्यक्ति पनि पेशेवर अपराधी भएको प्रहरीको भनाइ छ।

‘पक्राउ परेकामध्ये दुई जना दश–दश वर्ष जेल सजाय काटेकाहरू हुन्,’ ती प्रहरीले भने, ‘काठमाडौंबाट पक्राउ गरी आज गुल्मी ल्याइँदै गरेका व्यक्तिको विगत पनि त्यस्तै देखिएको छ।’

अविवाहित गंगादेवीले घर भाडामा लिएर ‘गंगा होटल’ चलाएर बसेकी थिइन्। उनले खाना खाने र दुई–चार जना बास बस्न मिल्ने होटल चलाएकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चोरी डाँका गर्ने उद्देश्यले चार जना मिलेर उनको हत्या गरेको देखिएको छ। आरोपित व्यक्तिहरू घटना हुनुअघि केही पटक उक्त होटलमा बास बसेर सूचना संकलन गरेको खुलेको एक प्रहरीले बताए र अघिल्लो रात पनि उनीहरू बास बस्न भनेर त्‍यहाँ पुगेको देखिन्छ।

लामो समयदेखि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली पनि गुल्मी पुगेर अनुसन्धान गरिरहेको छ।

‘घटनामा संलग्न मुख्य भनिएका व्यक्ति फरार हुन नपाऊन् भनेर प्रहरीले गोप्य रूपमा काम गरिरहेको छ,’ लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एसपी नबरत्न पौडेलले भने, ‘ती व्यक्तिलाई पक्राउ गर्नासाथ प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्नेछ।’

घटनाको अनुसन्धान गर्न लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी टेकप्रसाद राई पनि दुई पटक गुल्मी पुगिसकेका छन्। उनले पनि यसमा पेशेवर आपराधिक समूह संलग्न रहेको बताए।

गंगादेवीको पोष्टमर्टम गरिसकेको छ। यस्तै भिसेरा गराए पनि रिपोर्ट आइनपुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

पक्राउ परेका व्यक्तिलाई उनीसहितको टोलीले बुटवलबाट गुल्मी लगिँदैछ। मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटाले गंगादेवीको हत्या भएको लामो समय बित्दा पनि आरोपित सार्वजनिक नगर्दा वडाबासी त्रासमा बाँचिरहेको बताए। पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन्।

‘दुई जनालाई पक्राउ गरिएको कुरा प्रहरीले हामीलाई पनि बताउँदै आएको छ,’ उनले भने, ‘तर हत्याको कारण र उनीहरू को हुन् भनेर प्रहरीले अझै सार्वजनिक गरेको छैन।’

उनका अनुसार गंगाले बुटवलमा घडेरी बेचेर घरमा पैसा राखेको, सहकारीबाट पैसा झिकेको लगायत हल्लाका कारण पनि उनको हत्या भएको आशंका छ। यद्यपि घडेरी बेचेको र पैसा निकालेको भन्नेबारे नखुलेको प्रहरीले बताएको छ।

गत माघ १६ गते बिहान अबेरसम्म पनि गंगादेवी घरबाट निस्केकी थिइनन्। छिमेकीले त्यसबारे गंगादेवीकी बहिनीलाई खबर गरेकी थिइन्।

बहिनी त्यहाँ पुग्दा अगाडिको ढोका बन्द थियो। पछाडिपट्टिको ढोकाबाट भित्र पसेर हेर्दा गंगादेवी भुइँमा मृत फेला परेकी थिइन्। उनको हात(खुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा शव फेला परेको थियो।

उनको मुख, आँखा र टाउकोमा चोट देखिएको थियो। धारिलो हतियार प्रयोग नभए पनि भित्री चोटका कारणले उनको मृत्यु भएको हुनुपर्ने प्रहरीको भनाइ थियो।सेतोपाटी डट कम बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?