काठमाण्डौ महानगरपालिकाले कम्पोष्ट मल बनाउने कामलाई बिस्तार गरेको छ । यसअघि टेकुमा रहेको ट्रान्सफर स्टेशनमा एक ठाउँबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको महानगरपालिकाले टेकुकै अर्को ठाउँमा पनि कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ ।
परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया काठमाण्डौ उपत्यकाको अन्य ठाउँ र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन गर्ने ठाउँ बञ्चरेडाँडामा पनि सुरु गर्ने महानगरको तयारी छ ।
कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।
टेकुका ती दुई ठाउँका काम सफल भए उपत्यकाको अन्य ठाउँमा पनि बिस्तार गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । पटकपटक कुहिने फोहर व्यवस्थापन गर्न समस्या भइरहेका बेला कम्पोष्ट मल बनाउने कार्यले सहज हुने उहाँको भनाइ छ ।
उपत्यकामा नै उत्पादन भएको कुहिने फोहरबाट मल उद्योग सञ्चालन गर्ने र बञ्चरेडाँडामा थोरै मात्र फोहोर पठाउने गर्दा ठाउँ अभावको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ । अहिले उपत्यकामा उत्पादन भएका सबै फोहर बञ्चरेडाँडामा लानुपर्ने अवस्था छ । यसरी सबै फोहर ल्याण्डफिलमा व्यवस्थापन गर्दा छिटो भरिने हुन्छ ।
फोहर जहाँ उत्पादन भएको छ त्यहीँ व्यवस्थापन गर्नुपर्छ भन्दै महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयलाई यस विषयमा थप जिम्मेवार बनाउने जनाएको छ । उज्यालो