राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पाँच घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आम कार्यकर्ताको भावनालाई पनि प्रतिबिम्बित गर्दै पार्टीले यस्तो निर्णय गरेको हो।’
उनले राप्रपाको भोट राष्ट्रपति निर्वाचनका लागि निर्णायक पनि नरहेको उल्लेख गरे।
‘हाम्रो भोटको यसपालि त्यति धेरै आवश्यक पनि छैन। जस्तै, ८ दलको भोटमा हाम्रो भोट थपिएर राप्रपाको भोट निर्णायक भयो भन्ने अवस्था पनि रहेन। र, एमालेलाई जति भोट चाहिन्छ त्यो हाम्रो भोटले मात्र पुग्दा पनि पुग्दैन। त्यसकारण पनि तटस्थ बस्ने निर्णय गरिएको छ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय गरिएको पत्रकारहरूलाई बताए।