भुवन भुसाल, काठमाडौ
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनद्धारा काठमाण्डौमा आयोजित जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका हुन्। उनले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताएका छन्।
आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने कुरा निकै अघि बढिसकेको उनको भनाई छ ।
उनले भने, ‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो ।
शान्ति प्रक्रियापछि यो विभिन्न भँगालोतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ती सबै भँगाला एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो । हामी सबैले सबैका अनुभवलाई आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ, यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्न सक्ने छैन ।’
प्रधानमन्त्री प्रचण्ड दाहालले आफू जनयुद्धका कमान्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताए । उनले मोहन वैद्य किरण, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीविरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताउदै आफूहरू एक हुनु नै शहीद र बेपत्ता योद्धाहरूप्रति इमानदार भएको ठहरिनु हुने उनको भनाई छ ।
उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरूको नाम राजपत्रमा प्रकाशित गर्नेलगायतका निर्णयहरू गराउन सफल भएको बताएका छन् ्।