काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु

पार्वती भुसाल, काठमाडौं

काठमाण्डौको वसन्तपुरमा रहेको हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । वसन्तपुरमा रहेको हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज तीनतले चीर ठड्याएसँगै देशभर यसपालिको फागु अर्थात होली पर्व सुरु भएको छ ।

चीर ठड्याएसँगै सोमबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताउनु भयो । उहाँले चीर ठड्याइसकेपछि विधिवत् रुपमा होली पर्व सुरु भएको मानिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चीरको महत्त्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । चीर ठड्याइसकेपछि विधिवत रुपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउने परम्परा रहेको छ ।’ वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो।

आपसमा मैत्री एवम सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन्। आगोले प्रह्लादलाई छोएन। यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?