यति वेला एसइई परीक्षा नजिकिँदै छ। शिक्षकहरू विद्यार्थीलाई कसरी धेरै उत्तीर्ण गराउन सकिन्छ भन्दै अध्यापनमा व्यस्त छन्। गुल्मीमा एक विद्यालयका प्रधानाध्यापक विद्यालय समयमा विद्यालयमा नगई एमालेको ग्रासरुट अभियानमा लागेका छन्।
रुरुक्षेत्र गाउँपालिका रिडीस्थित रिडी माविका प्रधानाध्यापक रोहित भण्डारी आइतबार विद्यालय नगई एमालेको ग्रासरुट अभियानमा कालीगण्डकी गाउँपालिकातर्फ लागेको फोटो सामाजिक सञ्जालमा छाएको छ।
एमालेकी नेत्री समेत रहेकी अञ्जु कँडेल केसीले आफूहरू गाउँपालिकाकी उपाध्यक्ष, विद्यालयका प्रअ भण्डारी र आफूहरू एमालेको मिसन ग्रासरुट अभियानका लागि कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।
प्रअ विद्यालयमा पढाउन नगई सक्रिय राजनीतिमा लाग्नु र अभियानमा लाग्दा गाउँपालिका र विद्यालयप्रति नै प्रश्न खडा भएको छ।
यता रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मीनादेवी गौतमले प्रअ भण्डारी आफूहरूसँगै अभियानमा रहेको स्विकारेकी छिन्। उनले अहिले आफूहरू अभियानकै क्रममा कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्पष्ट पारिन्।
प्रधानाध्यापक भण्डारीले भने एउटै गाडीमा गए पनि मिसन भने फरक रहेको बताएका छन्। आफूले शिक्षक संगठनका साथीहरूलाई पूर्तिघाटमा भेटे पनि अभियानमा नरहेको भन्दै पन्छिन खोजेका छन्।
रुरुक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले शिक्षकहरू यसरी सक्रिय राजनीति र अभियानमा लाग्नु गलत भएको बताएका छन्। यसबारे आफूले बुझेर अगाडि बढ्ने उनले बताए।
शिक्षकलाई विद्यालय नगई खुलम खुला राजनीतिमा हिँडने छुट हुन्छ त भन्ने प्रश्नमा उनले त्यस्तो छुट नभएको उल्लेख गरे।
शिक्षा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले शिक्षकहरूलाई विद्यालयमा पढाउन नियुक्ति दिइएकाले राजनीति गर्ने छुट नभएको बताए। उनले शिक्षकले राजनीति गर्न नहुने समेत स्पष्ट पारेका छन्।
जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले शिक्षकहरू पार्टीको मूल कार्यक्रममा जान नहुने बताएका छन्। उनले वास्तविकता बुझेर अगाडि बढ्ने बताएका छन्।
थाहा खबरबाट साभार