झरना कंडेल, काठमाडौ ।सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको सन्दर्भमा सांसद डा. चन्द्र भण्डारीले नागरिकले अपनत्व ग्रहण नगरेको बिदाको संज्ञा दिएका छन ।
सामाजिक संजाल मार्फत उनले जनयुद्ध दिवस मनाउने नयाँ तरिका समेत सुझाएका छन । जनयुद्ध दिवसलाई द्वन्द्व पिडित संग जोडेको भए अझै सान्दर्भिक हुने सांसद भण्डारीको सुझाब छ । माओवादी बनेर लडेका, मारिएका, घाइते, अपांग भएका पीडा सुनेर दिवस मनाउन सकेको भए सरकारी बिदाको सान्दर्भिकता हुने कांग्रेस नेता समेत रहेका सांसद भण्डारीले तर्क गरेका छन ।
उनले आजको दिन युद्धको क्षतीप्रती माफ माग्न दुबै पक्षलाई सुझाब दिएका छन । माओवादीले मारेका र घाइते बनाएका संग माओवादीले माफ माग्ने र सरकारले मारेका माओवादी लडाकु परिवार संग सरकारले क्षमा मागेर दिवस मनाउनु पर्ने उनको सुझाव छ । नागरिकले अपनत्व ग्रहण गर्न नसक्ने बिदा भन्दै डा. भण्डारीले लेखेका छन “नागरिकले अपनत्व गर्न नसक्ने सरकारी बिदा !!! दिवसलाई द्वन्द्व पिडितहरु संग जोडेको भए बिदा औचित्यपूर्ण हुन्थ्यो होला ।
तत्कालीन युद्धमा एकले अर्कोलाई पुर्याएको क्षति प्रती माफ मागेर, एक अर्काको गल्ती महसुस गरेर दिवस मनाउँदा बल्ल सान्दर्भिक हुन्थ्यो होला ।” सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो सुझाब दिएका हुन ।