भुवन भुसाल , असार २१ गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । पालिकाको आयोजना , प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग र अपांग शसक्तिकरण एवं संचार केन्द्र ( डेक नेपाल ) बाँकेको सहजीकरणमा सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुमै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले पालिकाले हाल सम्म संचालन गरेका महत्वपूर्ण कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवाली, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, युवा, शिक्षक, विद्यार्थी, व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
कस्ले के के भने ?
बोल्दै स्थानीय तिर्थ कंडेलले सार्वजनिक सुनुवाईको बारेमा जनतालाई खबर नगरिएको , सुचना नगरी कार्यक्रम आयोजना गरिएकाले किन जानकारी नगराईएको भनी प्रश्न गर्नुभयो ।
करिब ६० जना भन्दा धेरै सहभागी भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सरस्वती माध्यमिक बिधालयका बिद्यार्थीले वास्तविक जनसरोकारका प्रश्न एवम् जिज्ञासा राखेका छन । बिधालय बाट ७ जना विद्यार्थी सहभागी थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सरस्वती माध्यमिक बिधालयका बिद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको , बिधालयमा सेनेटरी प्याड निशुल्क व्यवस्था भएपनी प्याड गुणस्तरीय नभएको भन्दै कहिले पूरा हुन्छ भनी माग गरेका छन । कार्यक्रममा समय लिएर बोल्दै बिद्यार्थीहरुले सरकारले दलित बिद्यार्थीलाई जम्मा ४ सय छात्रवृत्ति उपलब्ध गराउने बताउदै सो रकमले पोशाक किन्ने कि कापी भन्दै प्रश्न समेत गरेका छन ।
नेताहरुको प्रतिकृया के थियो ?
सुनुवाइ कार्यक्रममा बोल्दै नेकपा एमाले अध्यक्ष पिताम्बर अर्यालले बिगतमा रहेका खानेपानी , स्वास्थ्य , शिक्षा लगायतका समस्या पालिका बनेपछी केही हदसम्म कम भएको र उल्लेख काम भएपनी अझै पुर्ण भने नभएको बताउनुभयो ।
कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता भेषराज कंडेलले अस्पतालमा निशुल्क पाईने औषधि मध्य ४ प्रकारका औषधि सम्म नभएको , सामुदायीक अस्पतालको पढाइ झन झन खस्किदो रहेको , विवादित योजनामा पालिकाले एकलौटी गरेको लगायतका आरोप लगाउदै सुधार गर्न सुझाब दिनुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै नेकपा माओवादी केन्द्र छत्रकोटका उपाध्यक्ष राम प्रसाद कंडेलले पालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेर जनतालाई सुचना नदिएको आरोप लगाउनुभयो । नेता कंडेलले पालिकाका बिधालयमा सफा खानेपानी , युवा लक्षित कार्यक्रम संचालन गरेर स्वरोजगार बनाउनु पर्ने लगायतका सुझाब दिनुभयो ।
सुन्दर उत्तर सहित सुनुवाई समापन
सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफदेही वक्ताको रुपमा बोल्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेटमा युवा लक्षित कार्यक्रम अन्तर्गत कृषि गर्ने युवाको रिणको केही प्रतिशत ब्याज पालिकाले तिरिदिने , बिपन्न बालबालिकाको निशुल्क अध्ययनको व्यवस्था गर्ने लगायत थुप्रै कार्यक्रम ल्याएकाले अहिले उठेका प्रश्न अर्को पटकका कार्यक्रममा आफै निराकरण भएर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले आज उठेका प्रश्नहरु संबोधन गर्ने गरि आगामी बजेटमा पहिल्यै व्यवस्था गरिएको बताउनुभयो । अधिकृत पन्थीले अस्पतालमा निशुल्क पाउने औषधिको व्यवस्था नभएको गुनासो भने गलत रहेको भन्दै सरकारले निशुल्क दिने भनेका औषधि पालिकाका स्वास्थ्य केन्द्रहरुमा मौज्दात रहेको उत्तर दिनुभयो ।
कार्यक्रमको सहजीकरण डेक नेपाल प्रतिनिधि एवं नागरिक अगुवा गुणानिधी शर्माले गर्नुभएको थियो भने स्वागत डेक नेपालका गणेश पाण्डेले गर्नुभएको थियो । सुशासनको महत्वपूर्ण सुचकको रुपमा रहेको जनताले जान्न पाउने अधिकारलाई सुरक्षीत गर्न पालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनुभयो ।