गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलब बढेको छ ।
नेपाल सरकारले उपलब्ध गराउने तलबस्केलका अतिरिक्त गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई मासिक एक हजार रुपैयाँ पालिकाले थप गरेको हो ।
शुक्रबार सार्वजनिक आगामी आर्थिक वर्ष ०७९÷ ०८० को बजेटमार्फत वृद्धि गरिएको तलबस्केल आगामी साउन १ गतेदेखि लागु हुनेछ ।
अब छत्रकोटका विद्यालय कर्मचारी (लेखापाल )को मासिक तलब १८ हजार ५ सय, बालविकास सहयोगी कार्यकर्ताको १६ हजार र कार्यालय सहयोगीको १३ हजार रुपैयाँ पुगेको छ ।
जसमा संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा दायित्व वहन हुँदै आएको छ ।
छत्रकोट गाउँपालिकाका शिक्षा अधिकृत टीकाराम आचार्यका अनुसार पालिकाभर बालविकास सहयोगी कार्यकर्ता ४४ जना, विद्यालय कर्मचारी ९ जना र कार्यालय सहयोगी ४२ जना कार्यरत छन् ।
गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले प्रस्तुत गर्नुभएको बजेटमा विद्यार्थी भर्ना अभियानदेखि शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक क्षमता विकास, प्रोत्साहन तथा भ्रमण तालिम लगायतका कार्यक्रम समेटिएका छन् ।
त्यस्तै विद्यालय भवन मर्मतसंभार, प्राविधिक शिक्षाको दायरा तथा गुणस्तर वृद्धिका लागि पनि प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको छ ।
साथै विज्ञान, गणित र अंग्रेजी विषयका अतिरिक्त कक्षा संचालन गर्न पनि बजेट छुट्याईएको छ ।
सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलबभत्ता, विद्यालय संचालन अनुदान, अपुग भएका विद्यालयमा थप कक्षाकोठा व्यवस्थापन लगायत सम्पूर्ण शैक्षिक गतिविधीका लागि संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्य तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरी जम्मा १९ करोड २ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।