विश्वनाथ पाण्डे, गुल्मी । एम्बुलेन्सको चरम अभाव झेलिरहेको छत्रकोट गाउँपालिकाले तत्काल दुई ओटा एम्बुलेन्स खरिद गर्न बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष ०७९÷ ०८० को बजेटमा एम्बुलेन्स खरिदका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
शुक्रबार सार्वजनिक बजेटमा गरिएको शीर्षकगत विनियोजनसँगै अब पालिकामा तत्काल दुई एम्बुलेन्स खरिद हुनेछन् ।
छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले निर्वाचनकै समयमा पालिकामा एम्बुलेन्सको व्यवस्था नभएसम्म सरकारी सुविधाको गाडी प्रयोग नगर्ने घोषणा गर्नुभएको थियो ।
सोहीबमोजिम हालसम्म पनि उहाँले निजी गाडी नै प्रयोग गर्दै आउनुभएको छ ।
छत्रकोट गाउँपालिका मातहत श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा एउटा एम्बुलेन्स संचालनमा छ । तर, उक्त एम्बुलेन्सको अवस्था नाजुक अवस्थामा पुगिसकेको छ ।
सन् २००७ मा बनेको उक्त एम्बुलेन्स शुरुका दुई वर्ष नेपालका लागि भारतीय दुतावासमा चल्यो ।
त्यसपछि निरन्तर त्यहाँ चलाईको छ, जबकि प्राविधिक हिसाबले समेत अब त्यही अवस्थामा चलाईरहनु जोखिमपूर्ण छ ।
महिन्द्रा कम्पनीका अनुसार एम्बुलेन्स निरन्तर प्रयोगको बढीमा १० वर्षसम्म मर्मतसम्भार पछि चलाउन सकिन्छ तर, १२ वर्षपछि भने सुरक्षा जोखिमकै कारण विरामी बोक्न हुँदैन ।
यसर्थमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रले संचालन गर्दै आएको लु १ झ २७५ नम्बरको सो एम्बुलेन्स विगतदेखिनै उच्च जोखिममा चलिरहेको देखिन्छ ।
एम्बुलेन्सको समस्या तत्काल सम्बोधन गरी सर्वसाधारणको सुविधालाई ध्यानमा राखी पालिकाले एम्बुलेन्स खरिद गर्न लागेको हो ।