
अमर पन्थ,गुल्मी। आर्थिक अभावले स्वरोजगारको अवसर नपाएका छत्रकोटका युवाहरुलाई स्थानीय सरकारले विशेष अवसर दिने भएको छ । उक्त योजना पालिकाभित्रकेही गर्न चाहने तर लगानी अभाव भएका कम्तीमा १०० जना युवाहरुका लागि ल्याईएको हो ।
छत्रकोट गाउँपालिकाको आगामी आर्थिक वर्ष ०७९ ÷०८० को नीती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बैंक तथा सहकारीसंगको सहकार्यमा उद्यम गर्न ऋणको व्यवस्था गर्ने र ब्याजको समेत ७५ प्रतिशत पालिका आफैले व्यहोर्ने गरी रोजगारी सिर्जना गर्न लागिएको बताउनुभयो ।
“बेरोजगार युवाको लागि स्वरोजगार, छत्रकोट विकासको आधार ” भन्ने नाराका साथ अगाडि बढाउन खोजिएको यस कार्यक्रमबाट १०० भन्दा बढी युवाहरु प्रत्यक्ष रोजगारमा जोडिनेछन् भने स्थानीय उत्पादन समेत वृद्धि हुने देखिन्छ ।
नीती तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षदेखि न्यूनतम २० युनटसम्मको विद्युत् महशुल छत्रकोट गाउँपालिकाभर नि शुल्क गरिने छ ।
आज मंगलबार प्रस्तुत नीती तथा कार्यक्रमले विपन्न तथा अवसरबाट वन्चित समुदायको आधारभूत सेवासुविधालाई अधिकतम समेट्ने प्रयास गरेको छ । गर्भवती, सुत्केरी तथा जेष्ठ नागरिकको स्वास्थ्य र पोषणलाई सुदृढ गर्न “गर्भवतीमा अण्डा खान्छन् सुत्केरीमा भाले, छत्रकोटमा हर्लिक्स खान्छन् हाम्रा आमाबाले “ भन्ने नारासहितको अभियान संचालन गरिने भएको छ ।
जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम संचालन गरी जेष्ठ नागरिकका दैनिक समस्या, गुनासो सम्बोधन गर्ने, स्वास्थ्य पोषण लगायतका सुविधामा विशेष ध्यान दिनेगरी कार्यक्रम तय गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।
सामाजिक विकास, पूर्वाधार निर्माण र जनजीविकाका आधारभूत पक्षलाई उच्च प्राथमिकतामा राखिएको नीती तथा कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि भौतिक विकास तथा जनशक्ति सबलीकरणमा जोड दिईएको छ ।
शिक्षातर्फ केही रचनात्मक र कार्यसम्पादनमा आधारित शिक्षक मूल्यांकन पद्धतिलाई स्थापित गर्ने रणनीती लिइएको छ । कामका आधारमा मूल्यांकन गरी प्रोत्साहन तथा दण्डको नीती अवलम्बन गरिएको छ ।
शिक्षक कर्मचारीको अनावश्यक तथा अवान्छित राजनैतिक सक्रियतामा नियन्त्रण गरिने नीती तथा कार्यक्रममा उल्लेख छ । दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ ।
कृषि बीमा कार्यक्रम निशुल्क रुपमा संचालन गर्ने तथा किसान सूचिकरण कार्यक्रमलाई निरन्तरता प्रदान गरिने छ भने, नयाँ बाख्रा पकेट कार्यक्रम संचालन गरिने गाउँपालिकाको नीती रहेको छ ।
खर्ज्याङ्गको खानेपानी समस्या समाधान गर्ने योजना पनि आगामी आर्थक बर्षमै शुरु गर्ने छत्रकोट सरकारको योजनामा परेको छ ।