भुवन भुसाल , जेष्ठ ११ गुल्मी
गुल्मीका २ फरक फरक बिरामीलाई जापान बासी गुल्मेलीले सहयोग रकम पठाएका छन । जापान बासी नेपालीले पठाएको सहयोग रकम बिरामीको घरमा पुगेर हस्तान्तरण गरिएको छ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका वार्ड न ४ बाख्रेका लामो समयदेखी मृगौला पिडित मान बहादुर बिक र सोही वार्डका मानसिक बिरामी खड्क बहादुर ढेगालाई जापान बासी नेपालीले सहयोग पठाएका हुन । मृगौला पिडित बिकलाई नगद ४७ हजार र मानसिक बिरामी ढेगालाई नगद १३ हजार हस्तान्तरण गरिएको छ ।
गुल्मीदरबार गाउँपालिका वार्ड न ४ गुल्मी सेवा समाज जापानका सदस्य समेत रहनुभएका निरज कार्कीको नेतृत्वमा संकलित नगद ६० हजार उनिहरुलाई सहयोग गरिएको स्थानीय समाजसेवी कमल कार्कीले जानकारी दिनुभयो । गाउँमा लामो समय देखि बिरामी परेका र आर्थिक अभाव भएको खबर पाएपछी जापानमा रहेका गुल्मेलीहरुले रकम संकलन गरेका थिए ।
समाजसेवीहरु भिम बहादुर राना , भुपेन्द्र कंडेल र कमल कार्कीले संकलित रकम पिडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।रकम हस्तान्तरण गर्दै कार्किले गाउँमा कसैलाई पोल्दा दुख्ने जापानबासी सहयोगी नेपालीहरु वास्तविक भगवान भएको भन्दै सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सहयोग रकम ग्रहण गर्दै लामो समय देखि मृगौला पिडित बिकले आफ्नो दुखमा मल्हम लगाउने काम गरेको भन्दै जापानबासी निरज कार्की र सहयोगी सबैलाई धन्यवाद दिनुभयो । पिडित बिकले भन्नुभयो ” म बिरामी हुँदा म गरिब एक्लै छु , अफ्ट्यारोमा कोहि छैन , अब मर्नुको बिकल्प भन्ने छैन भन्ने लाग्थ्यो आज भने सबैले यसैगरी सहयोग गरे त बाच्छु भन्ने आशा पलाएको छ , सहयोगी सबैको जयजय होस ” ।