हुमाकान्त पोखरेल , २० चैत , गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा २५५ मतदान केन्द्र हुने भएका छन् । ०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा भन्दा जिल्लामा चार मतदान केन्द्र थपिएसँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या २५५ पुगेको हो ।
०७४ को निर्वाचनमा जिल्लामा २५१ मतदान केन्द्र रहेका थिए । त्यस्तै जिल्लामा कुल १४२ मतदान स्थल रहेका छन् । यसभन्दा अगाडी ०७४ को निर्वाचनमा १३८ मतदान स्थल रहेका थिए । अहिले चार मतदान स्थल थपिएका छन् । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठओटा मतदान स्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका नायब सुब्बा मेघलाल पाण्डेले जानकारी दिए ।
कालिगण्डकी र मदाने गाउँपालिकामा १०/१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११/११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुङ्गा नगरपालिकामा १५/१५ वटा मतदान स्थल रहेको नायब सुब्बा पाण्डेले बताए । यसपटकको निर्वाचनको लागि सत्यवती र चन्द्रकोटमा दुई/दुई वटा मतदान स्थल थपिएका छन् । सत्यवती गाउँपालिकाको वडा नम्बर ३ स्थित गोगलपुर आधारभूत विद्यालय र साँझपुर आधारभूत विद्यालयलाई नयाँ मतदान स्थलको रुपमा कायम गरिएको छ ।
त्यसैगरी चन्द्रकोट गाउँपालिका– ४ रेमीको भारती निम्न माध्यमिक विद्यालय र वडा नम्बर ७ रुपाकोटको जनता निम्न माध्यमिक विद्यालयलाई पनि नयाँ मतदान स्थल थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माया भुसालले जानकारी दिइन् । भुगोल एवम् जनसङ्ख्याको आधारमा नयाँ मतदान स्थल कायम गरिएको उनले बताइन् । थपिएका मतदान स्थलमा केन्द्र पनि एक/एक वटा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।