नविन शिशिर विक बागलुङ, चैत्र ४ गते । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बागलुङमा चुनावलक्षित राजनीतिक गतिविधि बाक्लो हुँदैगएको छ । जिल्लामा क्रियाशील राजनीतिक दलले कतै भिन्न त कतै संयुक्त रुपमा चुनाव केन्द्रीत गतिविधिलाई तिव्र बनाएका छन् । विशेषगरी सत्तारुढ राजनीतिक गठबन्धमा सहभागी राजनीतिक दलले आफ्नो पालिका तहमा अवस्था हेरेर संयुक्त राजनीतिक गतिविधिलाई प्राथमिकता दिएका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले एकल रुपमा आफ्नो राजनीतिक गतिविधि, संगठन विस्तार, भेला, प्रशिक्षण तथा पार्टी प्रवेशको कार्यलाई तिव्रता दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेस जिल्लाव्यापी अभियानमा एक्लै अघि बढेको छ । यद्यपि स्थानीय तहका पार्टी कमिटीले त्यहाँको अवस्था र आवश्यकता हेरेर सत्तागठबन्धकै आधारमा कार्यक्रम तयार गरेका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले पार्टी प्रवेश कार्यलाई तिव्र बनाएको छ । पार्टी प्रवेशमा पहिलो रोजाई नेकपा (माओवादी केन्द्र) का वडा कमिटी परेका छन् । नेकपा कार्यकाल हुँदै एउटै संगठनमा काम गरेको हुँदा वडा तहमा वार्ता पार्टी एकीकरण गर्न सहज बनेको प्रचार विभाग प्रमुख पौडेलले बताउनुभयो ।
सिङ्गो वडा कमिटी नै एमालेमा समाहित
पार्टी संगठन विस्तार अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–धम्जामा केन्द्रको वार्ड कमिटि (एमाले) मा समाहित भएको छ । धम्जामा आयोजित एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र) काठेखोला गाउँपालिका –३ गाउँ कमिटी अध्यक्ष देवेन्द्र खत्रीले एमालेका काठेखोला गाउँपालिका– ३ धम्जाका इन्चार्ज खुम भण्डारीलाई वार्ड कमिटिको माइन्युट हस्तान्तरण गरी पुरै कमिटी एमालेमा समाहित भएको घोषणा गर्नुभयो ।
माओवादी केन्द्र जनताको भावना विपरित अगाडि बढ्दै गएपछि पार्टी समाहित गर्नुपरेको देवेन्द्र खत्रीले बताउनुभयो । धम्जा एमाले जिल्ला कमिटी अध्यक्ष हिराबहादुर केसीको जन्मस्थल हो । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य नवीन कँडेलसहित काठेखोला गाउँपालिका –५ र ६ नम्बर वडा कमिटीमा रहेको माओवादी नेता कार्यर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।
छिन्नभिन्न अवस्थामा रहेका वामपन्थी शक्तिको एकताका लागि एमालेमा प्रवेश गरेको नवीन कँडेलले बताउनुभयो । तत्कालिन माओवादी नेता तथा हाल एमालेका पोलिटब्युरो सदस्य लिलाबहादुर थापा, केन्द्रीय सदस्य कृष्णबहादुर केसी एमालेमा सक्रिय भएपछि अन्य पार्टीका कार्यकर्ताभन्दा माओवादी नेता कार्यकर्तालाई एमाले प्रवेशमा सहजता देखिएको उहाँहरुको भनाई छ ।