अन्तत पल शाहविरुद्ध बलात्कार मुद्धा दर्ता : अब के हुन्छ पललाई ?

अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।

उनलाई एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ। नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारीरिक सम्बन्ध बलात्कार हो।कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।

प्रहरीले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।

आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घटना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १ मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ। तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भिक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?