तम्घास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाउनुभएको छ । आलु खेती उहाँको पुख्र्यौली पेशा हो । गतवर्ष उहाँले ६० क्विन्टल आलु बिक्री गर्नुभयो । जसबाट डेढ लाख आम्दानी भयो ।
“उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।” टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती लगाउने उहाँले यसबाट वार्षिक ५० हजार आम्दानी गर्नुहुन्छ ।
त्यस्तै उहाँले गाईपालन पनि गर्नुभएको छ । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उहाँ बताउनुहुन्छ । “अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “आफ्नै गाउँमा स्वरोजगार भएको छु ।” अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उहाँको हौसला बढेको छ ।
सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गर्नुभयो । उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो रु २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
“आलु र तरकारी खेतीले घरखर्च चलेको छ”, उहाँले भन्नुभयो, “अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।” गतवर्ष आलुको बीउ प्रतिकिलो रु १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो ।
मूल्य र डढेलोको समस्या
मेघराज र राधिका त आलुखेती गर्ने यो गाउँका उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा सक्रिय छ । बम्घामा आलुखेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसान यसतर्फ आकर्षित भएका हुन् । स्मार्ट कृषि गाउँअन्तर्गत ६० परिवार व्यावसायिक आलु खेतीमै जोडिएका छन् जसबाट उनीहरु मनग्य आम्दानीतर्फ उन्मुख भएको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।