भुवन भुसाल, अर्घातोष स्वास्थ्य चौकी छत्रदेव ८ मानीपोखराको भवन मर्मत र एम्बुलेन्स संचालनमा गाउँपालिकाले बेवास्ता गरेको पाईएकोे छ । भौतिक हिसाबले वडा कार्यालयको नजिक देखिएपनि प्राथमिकतामा अर्घातोष स्वास्थ्य चौकी मानीपोखराप्रति गाउँपालिका उदासीन देखिन्छ । त्यहाँको पुरानो भवनमा हालका जनस्वास्थ्य निरीक्षक बुद्धिराम न्यौपानेको कार्यकालमा उत्कृष्ट कामबापत प्राप्त पुरस्कारबाट सामान्य मर्मतपछि हाल पालिकाको खासै चासो देखिँदैन ।
शहरी विकास मन्त्रालयबाट प्राप्त एक करोड दश लाख भन्दा बढी लागतमा निर्माण भएको नयाँभवन वरिपरि सामान्य तारबार पनि हुन नसक्दा पशुचौपायाले गर्ने फोहोर समेत नियन्त्रण गर्न समस्या छ । “यो भवन बन्ने बेला नेपालमै भूकम्पप्रतिरोधी भवनको ट्रेण्ड भर्खर शुरु हुँदै थियो तर शुरुमा जुन उत्साह हामीमा थियो स्थानीय सरकारले समयसापेक्ष ध्यान दिन नसकेको होकि भन्ने पनि लाग्छ,” अर्घातोष चिदीपानीका एक युवाले भने, ” कहिलेकाहीँ त निशुल्क पाउनुपर्ने औषधि समेत पर्याप्त नभएको वा समयमा नपाएका ताजा अनुभव हामीसँग छन् ।”
स्वास्थ्य चौकीको डिफ्रिज बिग्रको पनि लामो समय भइसकेको छ जसले गर्दा मापदण्डबमोजिम राख्नुपर्ने खोप तथा त्यस्तै प्रकृतिका औषधि ‘स्टोर’ गर्न समस्या छ ।
एम्बुलेन्स बन्द राखेर बिजोग
एम्बुलेन्स खरिद गरेको करिब ३ वर्ष पुग्न लाग्यो तर कार्यविधि बनाउन बाँकी रहेको बाहाना देखाउँदै पालिकाले न्यूनतम इन्धन समेत उपलब्ध गराएको छैन । एम्बुलेन्स चालकको पारिश्रमिक समेत समयमा भुक्तानी हुन नसकेको खबर सार्वजनिक भएपछि यस विषयमा जिज्ञासा राख्दा स्वास्थ्य चौकी प्रमुख विष्णुप्रसाद पौडेलले समस्या रहेको तर समाधानका लागि आफुले कार्यपालिका बैठक / मासिक बैठकमा पटक पटक कुरा राखेको बताउनुभयो ।
कार्यविधि बन्न ढिलाई हुँदा इन्धन मर्मत लगायतका अत्यावश्यक खर्च धान्न कठिन छ । तर गाउँपालिका स्वास्थ्य संयोजक तथा जनस्वास्थ्य निरीक्षक बुद्धिराम न्यौपानेका अनुसार कार्यविधि बन्ने भनेको एम्बुलेन्स संचालनको नभई गर्भवती महिला बोक्ने विषयसँग सम्बन्धित भएकोले स्वत एम्बुलेन्स जोडिएको हो । उहाँका अनुसार उक्त कार्याविधि बनिसकेको छ र सम्भवत भोलि बुधबार बस्ने बैठकले त्यससँग सम्बन्धित विषय पनि थप स्पष्ट गर्नेछ ।
एम्बुलेन्स संचालन तथा व्यवस्थापनको विषय जटिल बन्दै गएपछि गत आठ महिनादेखि स्वास्थ्य चौकी मानीपोखराको एम्बुलेन्स सेवा प्रभावित बन्न पुगेको छ । हाल पालिकाअन्तगर्तका स्वास्थ्य संस्थामा तीनओटा एम्बुलेन्स रहेपनि बल्कोटको मात्र संचालनमा छ । चिदीकाको एम्बुलेन्स सेवा पनि बन्द छ ।
पालिकाले शुरुदेखि स्वास्थ्य चौकीको समितीअन्तगर्त चलेकोले सोको हिसाबकिताब पनि समितीले नै मिलान गनुपर्ने आशय राखेको देखिन्छ । यता, ०८ नं वडाका वडाअध्यक्ष राजकुमार श्रेष्ठले एम्बुलेन्स संचालन घाटामा रहेको र पालिकासँगको समन्वयपछि यो विषय टुङ्गिने बताउनुभयो । पालिकाले समयमै व्यवस्थापन गर्न नसक्दा बिरामी भने चर्को शुल्क तिरेर ट्याक्सीसेवा लिन बाध्य छन् ।