परीक्षा गतिविधिमा एकरूपता ल्याउँदै छत्रकोट गाउँपालिका

गुल्मीको छत्रकोट गाउँपालिकाले कार्यक्षेत्र भित्रका सबै विद्यालयको परीक्षा, मूल्यांकन लगायतका विषयमा एकरुपता ल्याउने भएको छ । पालिकाभित्रका सबै विद्यालयमा परीक्षासंग सम्बन्धित सबै व्यवस्थापकीय कार्यमा अनिवार्य एकरुपता ल्याउन लागिएको हो ।

पालिकाको शिक्षा शाखाले फागुन १० गते माध्यमिक विद्यालयका प्रधानाध्यापक हरुसङ्गको बैठकमा पालिकास्तरीय परीक्षा समिती समेत गठन गरेको छ । श्रृङ्गा जनता मा .वि का प्रधानाध्यापक विकासचन्द्र खरेलको अध्यक्षतामा नौ सदस्यीय समिती गठन गरिएको हो ।  बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी र शिक्षा अधिकृत टीकाराम आचार्यले शैक्षिक गतिविधिमा एकरुपताको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।

समितीले शिक्षा शाखासंगको परामर्श र समन्वयमा परीक्षा मिति, त्यसको व्यवस्थित संचालन, उत्तरपुस्तिका परीक्षण, मुल्यांकन पद्धति , नतिजा मितिसम्मका विषय तय गर्नेछ ।

पालिकाका सबै विद्यालयको परीक्षा मितिमात्र नभई परीक्षा र यससँग सम्बन्धित सबै विषयमा एकरुपताको खाचो महसुस गरि त्यसको कार्यान्वयनका लागि गाउँपालिकास्तरीय परीक्षा समिति बनाइएको शिक्षा अधिकृत टीकाराम आचार्यले बताउनुभयो ।

आचार्यले भन्नुभयो “कक्षा १० को प्री एस इ इ आगामी चैत ०४ गतेदेखि संचालन गर्ने निर्णय छ, कक्षा आठको पनि हामी छिटै निर्णय गर्छौं र बाकी परीक्षाबारे सायद अर्को बैठकले कार्यतालिका तय गर्ला ।
समितीले कार्यतालिका, प्रश्नपत्र संकलन, सम्पादन तयार वितरण तथा परीक्षण र नतिजासम्मका कामको व्यवस्थापन गर्छ ।”

कक्षा आठको परीक्षा पहिलेदेखि नै पालिकास्तरको एकै मिति, प्रश्नपत्र र एउटै सिटिङ्ग्मा संचालन हुँदै आएपनी बाकी कक्षाका परीक्षासम्बन्धि कार्यतालिका भने फरक फरक पनि हुँदै आएका थिए ।

छत्रकोट गाउँपालिका भित्र सामुदायिक र संस्थागत गरी ४९ विद्यालय संचालनमा छन् ।
सरकारले आगामी जेठ ०१ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?