मन्त्री आलेको अश्लिल हर्कत, मुम्बईमा बस्ने नेपालीलाई ‘ठाउँको ठाउँ’ उडाइदिने धम्की सचिवालय भन्छ, तथ्यहीन आरोप

 

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले अश्लिल गालीगलौजका कारण फेरि विवादमा तानिएका छन्।

 

भारत मुम्बई बस्ने एक नेपाली युवकलाई अश्लिल गाली गर्दै ‘ठाउँको ठाउँ उडाइदिने’ धम्की दिएका उनी विवादमा परेका हुन्।

 

उनले धम्की दिएको अडियो–भिडियो दुवै सामाजिक सञ्जालमा भाइरल छ। आफूलाई सामाजिक सञ्जालमा कमेन्ट गरेको भन्दै आलेले ती युवकलाई निकै तल्लोस्तरको भाषामा गाली गरेका छन्। उनले ती युवकलाई बसेकै ठाउँबाट उठाइदिने धम्कीसमेत दिएका छन्।

 

यस्तै मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ।

 

निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन्।

 

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।

थाहा खबर बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?