
रिमालले भने– हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ
२ फागुन, काठमाडौं । नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।
महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमालेका एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्ता लगत्तै जबरा निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।
जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताएका थिए । तर योगेश भट्टराई, सुभास नेम्वाङ लगायतका नेताहरुले त्यसो गर्न नहुने बताए पनि ओलीले नमानेको स्रोतले बतायो ।
ओलीले गरेको संसद विघटनलाई गत २८ असारमा सर्वोच्चले असंवैधानिक कदम भएको ठहर गरेको थियो । जबरा नेतृत्वको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
बराबर तर विपरीत प्रतिक्रिया हुन्छ : रिमाल
एमाले सचिवालय बैठकले जबराविरुद्धको महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो ।
एमाले उपमहासचिव विष्णु रिमालले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई एमालेमाथि ढुंगा हानिएको भनेर टिप्पणी गरेका छन् । हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुने भन्दै रिमालले सामाजिक सन्जालमा आज लेखेका छन्, ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ ।’
उनले थप लेखेका छन्, ‘फर इन एभ्री एक्सन, दियर इज आयन इक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी ?
अनलाइनखबर बाट साभार