गुल्मी दरवारको गाउँ सभामा कार्यालय प्रमुखदेखि सहयोगी सम्मान

गुल्मी, ८ माघ

गुुल्मी दरवार गाउँपालिकाको नवौ गाउँ सभाले कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मलाई सम्मान गरेको छ । कार्यपालिकाको विभिन्न बिधामा सम्मान गर्ने निर्णय बमोजिम सम्मान गरिएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम¸ विभिन्न कानून निर्माण, कार्यविधि निर्माण, बजेट निर्माण, कोभिड –१९ लगायतका विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, सामाजिक तथा आर्थिक विकास, शिक्षा, स्वास्थ्य, सुशासन र सेवा प्रवाह लगायतका क्षेत्रमा कार्य दक्षता र कार्य कुशलता सहित गाउँपालिकाको वृहत्तर हितमा पुराएको योगदानको उच्च कदर गर्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेलाई सम्मान गरिएको छ । सुशासन तथा क्षमता विकास समिति संयोजक हरिहर गौतम र कार्यबहाक अध्यक्ष मिना भण्डारीले पाण्डेयलाई सम्मान गरे ।

सभामा कार्यालय सहयोगीको तर्फबाट लामो समय गाउँपालिकाकामा कार्यरत कार्यालय सहयोगी गोमा खत्री, सवै वडा कार्यालयका सहयोगी मध्येबाट वडा नं ६ नं का कार्यालय सहयोगी दिनेश प्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै कार्यालयमा सबैभन्दा बढी दिन उपस्थित भएर सेवा प्रवाह गर्ने कर्मचारीहरु तर्फ वडा नं १ का कार्यालयको कार्यालय सहयोगी टिकाराम पराजुली, वडा नं ४ का वडा सचिव घनश्याम चुदाली सम्मानित भएको प्रशासन शाखा प्रमुख टंक पन्थीले जानकारी दिए ।

त्यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि अग्रपंक्तिमा रहने असिस्टेन्ट ल्याब टेक्निसियन अनिता कुँवर क्षेत्री र एम्बुलेन्स चालक महेन्द्र कार्की (सुरज)लाई सम्मान गरिएको छ । गाउँपालिकाको विद्यालयमा शैक्षिक गुणस्तर तथा विद्यालय व्यवस्थापनमा उल्लेखनीय योगदान पुराएका प्रधानाध्यापक मध्ये पदम बहादुर मावि बलिथुमका प्रध्यानाध्यापक नेत्रप्रसाद ज्ञवाली र सरस्वती प्रावि विरबासका प्रध्यानाध्यापक पार्वती पाण्डेलाई सम्मान गरिएको पन्थीले बताए ।

यसैबिच स्वास्थ्य संस्थाहरुको तर्फबाट, दरबारदेविस्थान स्वास्थ्य चौकीका प्रमुख जुनकला बस्नेत,वडा कार्यालयहरुको तर्फबाट वडा नं ५ का वडासचिव माया टण्डन, गाउँपालिकाको कार्यालयको तर्फबाट सवारी चालक गोविन्द थापा, सुचना सहायक प्रकाश थापा,सब इन्जिनियर विक्रम बस्नेत र सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख नवराज घिमिरेलाई गाउँपालिकाको कार्यबहाक अध्यक्ष भण्डारी र प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्मान गरेका हुन् ।

दैनिक हाजिरी, कार्यक्षमता, सेवा प्रबाह र जवाफदेहिता लगायतका सूचकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई गाउँपालिकाले विभिन्न समयमा सम्मान गर्दै आएको गाउँपालिकाको सुशासन तथा क्षमता विकास समिति संयोजक हरिहर गौतम जानकारी दिए । उनले कर्मचारीहरुलाई काममा प्रोत्साहन गर्न कार्यविधी र समिति निर्माण गरेर पुरस्कृत गर्दै आएको बताए ।

गाउँपालिकाको कार्यबहाक अध्यक्ष मिना भण्डारीले कर्मचारीहरुको जोश जाँगर र उत्साहलेनै शिक्षा, स्वास्थ्य, सुशासन र सेवाप्रबाहमा उत्कृष्ट काम गर्न सकिएको भन्दै प्रसंसा गरिन् । उनले लिजाको मुल्यांकलनमा पनि ८० अंक सहित उत्कृष्ट बनेर गाउँपालिकाको शिर उचो बनाएको प्रतिक्रिया दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?