सागर भण्डारी,गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमणदर बढ्दै गएपछि न्यूनिकरणका लागि यतिबेला सरकारले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाका कारण दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको यतिबेला निकै समस्यामा छन् । उनीहरुको घरमा चुल्हो नबोल्ने स्थिति छ । निशेधाज्ञाका कारण वेरोजगार बनेपछि उनीहरुलाई दैनिक गुजारा कसरी चलाउने भन्ने पिरलो थपिएको छ ।
यसै कुरालाई मध्येनजर गरी नेपाली काँग्रेस निकट विद्यार्थी सगंठन नेपाल विद्यार्थी सघंले गुल्मीको छत्रकोट गाउँपालिकामा रहेका अति विपन्न र गरिब परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ । नेपाल विद्यार्थी सघं गुल्मी छत्रकोट रुपन्देही सम्पर्क समितिले गाउँपालिका भित्र पहिलो चरणमा १५ घरधुरीमा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सम्पर्क समितिका सभापति विष्णु घिमिरेले विपदको यो समयमा समस्यामा परेका विपन्न परिवारलाई थोरै भएपनि राहत होस भनेर खाद्यान्न सामाग्री वितरण गरिएको बताए । उनले पहिलो चरणमा आईतबार खज्र्याङ र दौघामा राहत वितरण गरिएको र लगत्तै केही दिनमा दोश्रो चरण अन्तर्गत हुँगा पल्लिकोट र हर्दिनेटामा वितरण गरिने पनि जानकारी दिए ।
राहत वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय सदस्य एवम् त्रिभुवन बहुमुखी क्याम्पसका स्ववीयू सभापति मोति भण्डारीले नेपाली काँग्रेसले विगतमा पनि विभिन्न विपत्तिहरुमा नागरिकहरुको सहयोग गर्दै आएको स्मरण गर्दै हरेक विपत्तीमा पीडित र दुखीहरुको सेवामा सधै तत्पर रहने बताएका थिए । उनले बाढी,पहिरो देखि अन्य प्राकृतिक विपत्तिहरुमा नागरिकको सारथी बनेर काँग्रेस अगाडी बढ्ने बताए ।
राहत वितरण कार्यक्रमको व्यवस्थापन गरेका नेपाल विद्यार्थी सघंका विद्यार्थी नेता ऋषि भण्डारीले नेविसघं जनताको सुख दुखसगैं रहेको बताए । उनले आगामी दिनमा गाउँपालिकाका अन्य वडामा पनि राहत वितरण गरिने जनाउँदै विपन्नको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयासमा रहेको स्पष्ट पारे ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस दौघाका सभापति डिल बहादुर थापा,खज्र्याङ्का सभापति तुल्सीराम पन्थी,नेपाल तरुण दलका नेता कमल ज्ञवाली,विद्यार्थी नेता कृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सम्पर्क समितिका सभापति विष्णु घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव निरज पाण्डेले गरेका थिए । साथै आईतबार नै दौघा उपस्वास्थ्य चौकी, खज्र्याङ स्वास्थ्य चौकी,हर्दिनेटा स्वास्थ्य चौकी र श्रृङ्गा प्रहरी चौकीमा मास्क सेनिटाईजर,सावुन लगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरिएको नेपाल विद्यार्थी सघं गुल्मी रुपन्देही सम्पर्क समितिले जनाएको छ ।