२१ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।
राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
अनलाइन खबर बाट