टोपलाल अर्याल
गुल्मी, २५ माघ
गुल्मीको सत्यवति गाउँपालिका १ अस्लेवा रुद्रवेणीको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रम मा रहेका ४६ जना बृद्धबृद्धा, सन्यासी बाबा र व्यावस्थापन टोलीले पनि कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका छन् ।
शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मासहितको स्वास्थ्य कार्यालयको टोली खोप लगाउन रुद्रवेणी बृद्धा आश्रममा पुगेका थिए । शर्माले स्वास्थ्यको टोलीलाई भ्याक्निस हस्तान्तरण गर्दै ढुक्क भएर खोप लगाउन आश्रमका बृद्धबृद्धालाई आग्रह गरिन् । गुल्मीमा बृद्धाआश्रमका बृद्धबृद्धालाई कोभिड–१९ विरुद्धको खोप लगाएसंगै पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ । जिल्लामा ९२.८ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार जिल्लामा १८ सय ८१ जनाले खोप लगाउने लक्ष्य थियो । तर १७ सय ४४ जनाले मात्रै खोप लगाएका छन् ।
खोप लगाउनेमा सवैभन्दा बढि महिला स्वास्थ्य स्वयसेविका ७ सय ६०, स्वास्थ्यकर्मी ५ सय ९६, स्वास्थ्य संस्थाका कर्मचारी १ सय ८२, पालिका सरसफाईकर्मी ६, एम्बुलेन्स चालक २६, शव व्यावस्थापन गर्ने नेपाली सेना १०, बृद्धा आश्रमका बृद्धबृद्धा ४६ र कारागार कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी ९६ र अन्य २२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको आचार्यले जानकारी दिए ।
सरकारले पहिलो चरणमा सरकारी तथा गैरसकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सहयोगी, महिला स्वास्थ्य स्वयसेविका, फोहोर संकलक तथा सरसफाइकर्मी, एम्बुलेन्स तथा शव बहान चालक र सहचालक, शव व्यावस्थापनमा खटिएका कर्मचारीहरुलाई खोप लगाउन निर्देशन दिएको थियो । तर पछिल्लो निर्णय अनुसार आश्रमका बृद्धबृद्धा र सहयोगीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीका उपनिर्देशक डाक्टर भवानी शर्माले बताए । उनले केहि गर्भवति र दुध चुसाउने आमा बाहेक लक्ष्य अनुसारका व्यक्तिहरुले उत्साहपूर्ण रुपमा खोप लगाएको शर्माले दावी गरे । गुल्मीका लागि ४ सय १८ भायल कोरोना खोप आएको थियो । जसबाट साढे १९ सय जनाले दुवै डोज लगाउन मिल्ने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पहिलो खोप लगाएको चार हप्तामा दोस्रो डोज लगाउनुपर्छ । पहिलो चरण माघ १५ देखि २४ गतेसम्म संचालन भएको थियो । माघ १५ गते स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले खोप लगाएका थिए । माघ १६ र १७ गते रेसुंगा नगरपालिका, गुल्मी दरवार, छत्रकोट, रुरु क्षेत्र र धुर्कोट गाउँपालिकाकाले खोप लगाए । त्यस्तै माघ १८ र १९ गते कालिगण्डकी, सत्यवति, चन्द्रकोट, मालिका, मदाने गाउँपालिका र मुसिकोट नगरपालिकाका, माघ २० र २१ गते रेसुंगा, गुल्मी दरवार, छत्रकोट, धुर्कोट र मदानेका, माघ २२ र २३ गते कालिगण्डकी, चन्द्रकोट, सत्यवति, इस्मा र मालिका गाउँपालिका तथा मुसिकोट नगरपालिकाका लक्षित व्यक्तिहरुले खोप लगाएका छन् ।