काठमाडौँ –
नेपालमा काम गरिरहेका युट्युबरलाई व्यवस्थित पार्न अनलाइन स्वनियमन निर्देशिका जारी भएको छ ।
इन्टरनेटको माध्यमबाट भिडियो पत्रकारिताको अभ्यास गर्दै आइरहेका कतिपय च्यानल तथा प्लेटफर्मबाट विकृतिजन्य क्रियाकलाप भइरहेको व्यापक जनगुनासो बढेपछि त्यसलाई व्यवस्थीत र जिम्मेबार बनाउने उदेश्यले अनलाइन टिभी पत्रकार संघ, नेपालले ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ जारी गरेको हो ।
अबदेखि इन्टरनेटका माध्यमहरुबाट प्रसारण गरिने युट्युब लयागतका टेलिभिजन च्यानल सञ्चालन गर्दा नियमानुसार स्वामित्व तथा जवाफदेहिता, सम्पादकीय नीति, स्वार्थ संलग्नता घोषणा, सामाजिक समावेशिकरण, मिडिया अम्बुड्सम्यानको व्यवस्था र जनशक्तिबारे स्पष्ट रहनु पर्नेछ ।
निर्देशिकामा सत्य तथ्यमा आधारित रहेर प्रसारण सामग्री तयार पार्ने, सामग्री प्रसारण गर्नु अगावै सत्यपन सुनिश्चित गरेर मात्र प्रसारण गर्ने, शब्दचयन, भाषागत शुद्धता, समाजिक सद्भाव लगायतका कुरा विषेश ध्यानका साथ पालना गर्ने उल्लेख छ ।
यस्तै मानवीय संबेदनशिलतालाई पूर्ण ख्याल गरेर सामग्री तयार तथा प्रसारण गरिने र मानवअधिकार प्रति प्रशारणको सम्पादकीय नीति स्पष्ट र प्रतिवद्ध रहने कुरा पनि निर्देशिकामा उल्लेख छ ।
प्रसारण सामग्रीहरुमा व्यक्तिगत गोपनियताको हकको सम्मान र संरक्षण गरिने र सन्तुलनलाई विषेश ध्यान दिइने भनिएको छ । निर्देशिकामा नियमानुसार कम्पनी दर्ता गरी सोहि बमोजिम स्वामित्व र उत्तरदायित्व रहने गरी सञ्चालन गरिने उल्लेख छ ।
यस्तै कम्पनीका सबै सञ्चालकहरुको नामावली विवरण र लगानीको हिस्सा एवं श्रोत आवश्यकता अनुसार सार्वजनिक गर्न सकिने अवस्थामा राखिने भनिएको छ । कम्पनीको दर्ता संकेत, सम्पर्क फोन नं., ईमेल ठेगाना, सम्पर्क व्यक्ति तथा कार्यालय रहेको ठेगाना, संघको आबद्धता नं प्रष्ट देखिनेगरि प्रकाशित गर्नुपर्ने छ ।
अनलाइन टिभी च्यानलको व्यवस्थापकिय संयन्त्र, जिम्मेवारको संरचना, पदाधिकारीहरुको जानकारी स्पष्ट हुने गरी प्रकाशित गर्नुपर्ने छ । कम्पनीद्वारा सञ्चालित अनलाइन टिभी च्यानलको विज्ञापन, स्पोन्र्सड कन्टेन्ट तथा युट्युबबाट प्राप्त हुने रोयल्टी रकम र सम्बन्धित सामग्री स्पष्ट छुट्टीने गरी र बुझ्ने गरी राख्नुपर्ने छ ।
वार्षिक रुपमा कम्पनीको लेखापरीक्षण गरी लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिने कुरा पनि स्वनियमन निर्देशिकामा उल्लेख छ । यस्तै अनलाइन टिभी च्यानलहरुको आफ्नो स्पष्ट सम्पादकीय नीति तथा सम्पादकीय प्रणाली तय गरि कार्यान्वय र सार्वजनिक गरिने पनि निर्देशिकामा उल्लेख छ ।
प्रसारण गरिएको सामग्री सामान्यतः नहटाइने तर सो सामग्री तथ्यमा आधारित नभएको वा कसैलाई गम्भीर क्षति पु¥याउने देखिएमा वा हटाउनै पर्ने भएमा हटाउनुको कारण खुलाई क्षमा याचना तथा जानकारीसहित हटाईने कुरा निर्देशिकामा उल्लेख छ ।
यस्तै हत्या, हिंसा, आत्महत्या, बलात्कार, आतंक, निराशा, घृणा, सन्त्रास, उत्तेजना फैलाउने र अपराध दुरुत्साहन गर्ने सामग्री प्रसारण गरिने छैन भन्ने कुरा पनि स्वनियम निर्देशिकामा उल्लेख गरिएको छ ।
पत्रकारिताको मुल मान्यता ‘स्वनियमन’ लाई पालना गर्ने गरी नेपाल सरकारको ‘राष्ट्रिय आमसञ्चार नीति २०७३ बुँदा नं. १.७ र २.६ अनुसार’ ले पत्रकारितालाई स्वनियमन प्रणालीमा प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम स्वनियमन निर्देशिका जारी गरिएको संघले जनाएको छ ।